निर्वाचन शान्तिपूर्ण बनाउन भूमिका खेलेको भन्दै प्रहरीको प्रशंसा
काठमाडौँ, २६ फागुन – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत र जवानहरूका लागि सोमबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उहाँले निर्वाचनको समयमा प्रहरीले देखाएको सक्रियताले प्रहरी सङ्गठनको प्रतिष्ठा र साख वृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव तथा पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताबारे उठेका विभिन्न टिप्पणीका बाबजुद पनि निर्वाचनलाई शान्त, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ काम गरेको बताउनुभयो ।
उहाँले प्रहरीको निरन्तर सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी अनुसार योजनाबद्ध रूपमा काम गरेका सबै प्रहरी कर्मचारीको प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रहरी पेसा केवल रोजगारी मात्र नभई सेवा पनि भएको उल्लेख गर्दै उहाँले सेवाभाव, इमानदारी, उच्च व्यावसायिकता, कर्तव्यपरायणता र अनुशासनलाई प्रहरी सेवाको मूल आधारका रूपमा लिनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति केन्द्रित भई सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

