झापा–५ मा ऐतिहासिक उलटफेर, बालेन्द्र शाहद्वारा केपी ओली पराजित

झापा, २३ फागुन – नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिने झापा निर्वाचन क्षेत्र नं–५ मा यसपटक अप्रत्याशित परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। यससँगै शाहले ४९ हजार ६१४ मतान्तरले विजय हासिल गरेका हुन्।

काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाहका लागि यो जितलाई महत्त्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेका कारण पनि देशभरबाट यस निर्वाचन क्षेत्रतर्फ विशेष चासो थियो।

झापा–५ लामो समयदेखि ओलीको प्रभाव रहेको निर्वाचन क्षेत्र मानिन्थ्यो। २०४८ सालदेखि निरन्तर यस क्षेत्रबाट सक्रिय रहेका ओलीले २०५६ बाहेक अन्य निर्वाचनमा यहाँबाट हार व्यहोर्नु परेको थिएन। विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा उनले फराकिलो मतान्तरसहित विजय हासिल गरेका थिए।

तर यसपटकको निर्वाचन परिणामले झापा–५ को राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको देखाएको छ। विश्लेषकहरूका अनुसार युवा मतदाता, नयाँ राजनीतिक धार तथा परिवर्तनको अपेक्षाले यसपटकको परिणाममा महत्वपूर्ण भूमिका खेलेको मानिएको छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले नेपाली कांग्रेसलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। त्यसबेला ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा अधिकारीले २३ हजार ७४३ मत पाएका थिए।

यसपटक भने रास्वपाका शाहको जितसँगै झापा–५ को परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Facebook Comments Box