व्यावसायिक कफीखेतीतर्फ भोजपुरका किसानको आकर्षण
भोजपुर, २० फागुन – केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्रै देखिने भोजपुरमा अहिले व्यावसायिक कफीखेती विस्तार हुन थालेको छ। बजारसम्मको पहुँच स्थापित भएसँगै यहाँका किसान आयआर्जनका लागि कफीखेतीतर्फ आकर्षित भएका हुन्। उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट घटेको छ भने आम्दानीसमेत बढेको छ।
जिल्लाका हतुवागढी गाउँपालिका का सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिका का खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिका लगायत क्षेत्रका किसानले कफीखेती विस्तार गर्दै आएका छन्। यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ।
कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो। उहाँका अनुसार उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ। षडानन्द नगरपालिकाका सबै १४ वटै वडामा कफी प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको जनाइएको छ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकाका किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन्। परम्परागत रूपमा मकै र आलु खेती गर्दै आएका किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फ उन्मुख भएका हुन्। स्थानीय कृषक मनोज राईका अनुसार खोक्सिकाको भूगोल कफीका लागि उपयुक्त रहेकाले अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने सम्भावना रहेको छ।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुँदै आएको स्थानीय व्यवसायी बताउँछन्। विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको उल्लेख गरिएको छ। कफीखेती विस्तारसँगै उत्पादनसमेत वृद्धि भएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिनुभयो।
राम्रोसँग फलेको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको अनुभव छ। खेती विस्तार बढ्दै जाँदा यहाँबाट निर्यात हुने कफीको मात्रा पनि क्रमशः वृद्धि हुँदै गएको बताइएको छ। कफीखेतीको विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्र सुदृढ बनाउन टेवा पुगेको स्थानीय जानकारको भनाइ छ।

