प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
काठमाडौँ, ९ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) विभिन्न विकास योजनाको उद्घाटन तथा सभा सम्बोधनका लागि महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार, उहाँले महोत्तरीको मटिहानी नगरपालिका–८ मा निर्माण सम्पन्न विग्ही नदी पुल र वडा नं. ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्नुहुनेछ।
त्यसपछि त्यहाँ आयोजना गरिएको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, महोत्तरीमै पर्ने जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओलीले त्यसपश्चात बाराको परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न प्रशासकीय भवनको उद्घाटन गर्ने र त्यहाँ आयोजना हुने जनसभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

