आचारसंहिताको पूर्ण पालना गर्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ, १९ फागुन – प्रेस काउन्सिल नेपाल ले निर्वाचनको मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आग्रह गरेको छ। काउन्सिलले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण तथा प्रश्नोत्तरजस्ता कार्यक्रम प्रसारण नगर्न–नगराउन निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेको स्मरण गराएको हो।
मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा ‘पत्रकार आचारसंहिता, २०७३’ र ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ। काउन्सिलका सहप्रवक्ता रामशरण बोहरा का अनुसार आचारसंहिता उल्लङ्घनका घटनालाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण तथा लोककल्याणकारीसहित अन्य विज्ञापन भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण गरिनेछ।
काउन्सिलले मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

