आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार पूर्णरूपमा निषेध
काठमाडौँ, १८ फागुन – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि प्रारम्भ भएपछि मतदान सम्पन्न नभएसम्म कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा चुनावी गतिविधि सञ्चालन गर्न पाइने छैन।
निर्वाचन आयोगका अनुसार मौन अवधि लागू भएपछि प्रचार सामग्री हटाउनुपर्ने र कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने व्यवस्था छ। मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाउनुपर्नेछ।
मौन अवधिको उद्देश्य शान्त, निष्पक्ष र स्वच्छ वातावरणमा मतदान सम्पन्न गर्नु रहेको आयोगले जनाएको छ। मतदानका क्रममा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् तथा मतदाता त्रसित नहुन् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यस्तो व्यवस्था गरिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, छलफल, अन्तरक्रिया, गोष्ठी वा कार्यशाला आयोजना गर्न पाइने छैन।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यममार्फत पनि कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न निषेध गरिएको छ। आयोगले मौन अवधिको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

