तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौं, १५ फागुन – नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको प्रतिवेदनअनुसार यो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.८१ प्रतिशत बराबर रहेको छ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४ अर्ब ९३ करोड थपिएको हो। हालसम्मको कुल ऋणमध्ये आन्तरिक ऋण रु १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण रु १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ। कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा रु पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा माघ मसान्तसम्म रु दुई खर्ब ५५ अर्ब ४८ करोड मात्रै प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो।

आन्तरिक ऋणतर्फ रु तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएकोमा हालसम्म रु दुई खर्ब १७ अर्ब ६६ करोड अर्थात् ६०.१३ प्रतिशत उठाइएको छ। बाह्य ऋणतर्फ भने रु दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकोमा हालसम्म रु ३७ अर्ब ८१ करोड अर्थात् १६.१८ प्रतिशत मात्रै प्राप्त भएको छ।

त्यसैगरी चालु आर्थिक वर्षमा ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले रु चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकोमा माघ मसान्तसम्म रु दुई खर्ब तीन अर्ब ६५ करोड भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ४९.५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा ऋण सेवा खर्च ३.३३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

Facebook Comments Box