सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच समन्वयात्मक बैठक सम्पन्न
महेन्द्रनगर, १५ फागुन – सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारत बीच बाहिनीस्तर (डिआइजी तह) को समन्वयात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ।
बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी तथा लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
बैठकमा निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी गतिविधि रोक्न, अवैध घुसपैठ नियन्त्रण गर्न तथा मौन अवधिमा सीमानाका बन्दको प्रभावकारिता सुनिश्चित गर्न दुवै पक्ष सहमत भएका छन्।
साथै सीमा क्षेत्रमा हुने सम्भावित अवैध तथा गैरकानुनी गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै सूचना आदानप्रदान गर्ने र संयुक्त तथा समानान्तर सीमा गस्ती सुदृढ गर्ने विषयमा पनि सहमति भएको छ।
दुवै पक्षले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार तथा हतियार र नगद तस्करी नियन्त्रणका लागि आ–आफ्ना मातहतका युनिटलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो।
भारतीय पक्षबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआइजी सुधान्सु नौटियाल र अनिलकुमार शर्मासहित सीमा क्षेत्रमा कार्यरत विभिन्न रेजिमेन्ट प्रमुख सहभागी भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच केन्द्रीय, प्रदेश तथा जिल्लास्तरमा नियमित रूपमा समन्वयात्मक बैठक हुँदै आएका छन्।

