पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा पहिलोपटक अभिलेख

कञ्चनपुर, १५ फागुन – जैविक विविधताले समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा पहिलोपटक ‘मदना चाँचर’ चरा अभिलेख गरिएको छ। मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो प्रजाति तराईको समथर भूभागमा देखिनु संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको छ।

निकुञ्जमा चरा अवलोकनका क्रममा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा. विकल्प पाण्डेलगायतको टोलीले उक्त चरालाई अभिलेख गरेको हो। ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल हो, जुन थ्रस (चाँचर) परिवारअन्तर्गत पर्छ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ ले यस प्रजातिलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ श्रेणीमा राखेको भए पनि शुक्लाफाँटाका लागि भने यो नयाँ र दुर्लभ अभिलेख भएको चराविज्ञ डगौराले बताउनुभयो। उहाँका अनुसार यो चरा प्रायः १८०० देखि २७०० मिटर उचाइका आद्र्र मध्यपहाडी तथा हिमाली वनमा बसोबास गर्छ र जाडोयाममा केही तल झर्ने गर्छ। तराईको समथर क्षेत्रमा देखिनु असामान्य घटना भएको उहाँको भनाइ छ।

करिब २८–२९ सेन्टिमिटर लम्बाइको यो चरा भालेमा कालो रङ तथा पखेटामा खैरो दाग देखिन्छ भने पोथी खैरो रङको हुन्छ। भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुने बताइएको छ। चराविज्ञका अनुसार पहाडी क्षेत्रमा सीमित मानिने प्रजाति तराईमा देखिनुले जलवायु परिवर्तन वा पारिस्थितिक प्रणालीमा भइरहेको परिवर्तनको सङ्केत गर्न सक्छ।

शुक्लाफाँटामा नयाँ प्रजाति अभिलेख भएसँगै यहाँ पाइने चराको सङ्ख्या थप वृद्धि भएको छ। पहाडी क्षेत्रको यो प्रजाति शुक्लाफाँटामा भेटिनुले निकुञ्जलाई चरा अवलोकन तथा वैज्ञानिक अनुसन्धानका लागि अझ महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box