गुर्जावासीको दिनभरको यात्रा अब साढे दुई घण्टामा सीमित
म्याग्दी, १५ फागुन – धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीको वर्षौँदेखिको सडक सपना साकार हुने अवस्थामा पुगेको छ। लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक खोलिँदैछ।
यसअघि तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक खुलाइएको थियो। भैसीमानेदेखि पाल्टनसम्म थप तीन किलोमिटर मार्ग खुलिसकेको र अब करिब दुई किलोमिटर ट्र्याक खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो।
चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरिएको योजनाको ठेक्का लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा सम्झौता गरेको थियो। २०७९/८० देखि सुरु भएको यो योजना गाउँपालिकाको प्राथमिकताप्राप्त गौरवको आयोजनाका रूपमा रहेको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो।
दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्सा पार गर्दै पैदल हिँड्नुपर्ने अवस्था थियो। हाल गाडी पुग्ने पाल्टनबाट २० मिनेट पैदल हिँडेर गुर्जा पुग्न सकिने वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो। सडक सञ्चालनमा आएपछि गुर्जाबाट साढे दुई घण्टामा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ।
यसअघि मुना पुग्नै पूरै दिन लाग्ने गरेको स्थानीयवासीले बताएका छन्। सडक सुविधा पुगेसँगै बिरामीलाई समयमै अस्पताल पुर्याउन, कृषि तथा पशुजन्य उत्पादन र जडीबुटी बजारसम्म लैजान सहज भएको छ भने पर्यटकको आगमन पनि बढ्न थालेको छ।
मार्ग सुधार, घुम्ती व्यवस्थापन, नाला निर्माण र साँघुरो भाग फराकिलो बनाउन सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ। लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भइरहेको छ भने काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि स्थानीयले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन्।
अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीका ४५ वडामध्ये सडक सुविधा नपुगेको अन्तिम वडा थियो। २६५ घरधुरी र एक हजार ५०५ जनसङ्ख्या रहेको गुर्जा अब औपचारिक रूपमा सडक सञ्जालसँग जोडिन लागेको छ।

