निर्वाचन ६ दिन बाँकी : मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १५ फागुन – निर्वाचन आयोग ले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित सुरक्षा योजनाअनुसार उक्त निर्णय गरिएको जनाएको छ।

समग्र सुरक्षा अवस्थाको समीक्षा र सिफारिसका आधारमा गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको आयोगले उल्लेख गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित कार्य हुन नदिन तथा उल्लङ्घन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ।

मतदानको दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्। कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीलाई पनि अनुमति दिइनेछ। अन्य सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ।

मतदानका दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म तथा पुनः विमानस्थलसम्म आवतजावतका लागि आवश्यक सहजीकरण गरिने आयोगले जनाएको छ।

यी कागजात देखाएर मतदान गर्न पाइन्छ

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र प्रस्तुत गरी मतदान गर्न सक्नेछन्। साथै राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा जान सकिनेछ।

मतदाता नामावलीमा नाम भएका मतदाताले माथि उल्लेखित कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ। मतदानका दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका दुई–दुई जना कर्मचारी खटाइनेछन्।

Facebook Comments Box