पर्सामा सर्वपक्षीय बैठकः दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

पर्सा, ११ फागुन – पर्सामा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक कानुनी प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय गरेको हो।

साथै, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन धार्मिक अगुवाहरूले सहजीकरण गर्ने सहमति समेत भएको प्रजिअ दाहालले जानकारी दिनुभयो।

बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमार्फत घृणा फैलाउने तथा उत्तेजक अभिव्यक्ति प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनअनुसार तत्काल कारबाही गर्ने निर्णय गरेको छ।

आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट संयमित अभिव्यक्ति र शान्तिको सन्देश दिने गरी विज्ञप्ति प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ।

पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box