डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
सिरहा, ११ फागुन – कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार आरोपितबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध तथा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो । घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए । प्रहरीले घटनामा प्रयोग गरिएको अटोरिक्सा नियन्त्रणमा लिएको जनाएको छ भने अन्य फरार व्यक्तिको खोजी जारी रहेको जनाएको छ ।

