प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ, २ भदौ – सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कृषि, वन तथा पर्यावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनुहुनेछ।
यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१ साउनदेखि २०८२ असारसम्मको प्रतिवेदन संसद्मा पेस गर्नुहुनेछ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले नै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्नुहुनेछ।
यसैबीच, आजै सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिको बैठक पनि बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यसूची रहेको छ।

