धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
काठमाडौँ, ११ फागुन : पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा पृथ्वी लोकमार्गबाट अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी हालसम्म १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २४ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतक तथा घाइतेको सनाखत प्रक्रिया जारी रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार तथा खोजी कार्य जारी छ । उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको नेतृत्वमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको जनाइएको छ ।

