पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै

काठमाडौँ, ५ फागुन – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फागुन कृष्ण एकादशीका दिन पशुपति आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ। विसं १८३१ मा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको जनाइएको छ।

बिदाइका लागि गुठी संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ। नागा बाबालगायत साधुसन्तलाई स्तरअनुसार फरक–फरक रङका कार्ड वितरण गरी दक्षिणा प्रदान गर्ने व्यवस्था गरिएको छ। नेपाल बाहिरबाट आएका साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सहज होस् भनी दक्षिणा रकम बढाइएको संस्थानले जनाएको छ।

पशुपति परिसरका गोरखनाथ मठ, रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत स्थानमा करिब चार हजारभन्दा बढी साधुसन्त बसोबास गरेका छन्। यसैगरी, थापाथली कालमोचनघाटस्थित वैरागी, उदासी, सन्यासी र नाथ अखडामा बसेका साधुसन्तलाई पनि आजै दान–दक्षिणासहित बिदाइ गरिनेछ।

कोषका अनुसार रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरिएको छ। साधुसन्तलाई दान–दक्षिणाका लागि करिब रु आठ लाख बजेट विनियोजन गरिएको छ। साथै, वर्षभर चढाइएका रुद्राक्ष पहिराएर बिदाइ गरिने तयारी गरिएको छ। महाशिवरात्रिका अवसरमा धुनी जगाउन करिब ५० हजार किलो दाउरा खरिद गरिएको जनाइएको छ।

पशुपतिमा फोहरको डङ्गुर

महाशिवरात्रि मेलापछि पशुपति क्षेत्र फोहरले भरिएको छ। स्थानीयवासीले व्यवस्थापनमा कमजोरी भएको गुनासो गरेका छन्। दर्शनार्थीले मन्दिर प्रवेश गर्दा नाक थुन्नुपर्ने अवस्था रहेको बताएका छन्। कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल–प्रसादका कारण फोहर देखिएको बताउँदै सफाइ कार्य सुरु भइसकेको र बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने जानकारी दिनुभयो।

नागाबाबा हेर्नेको घुइँचो

शिवरात्रि आसपासका दिनमा नागाबाबा हेर्न आउनेको घुइँचो लागेको छ। क्याम्पस अध्ययनरत छात्रछात्राको उपस्थितिसमेत उल्लेख्य देखिएको छ। भारतको वनारसबाट आएका सन्त स्वामी महेशानन्दले पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको शिरका रूपमा मानिने भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताउनुभयो।

Facebook Comments Box