निर्वाचनमा बैंक खातामार्फत खर्च अनिवार्य, ६७१ उम्मेदवारले खोले चुनावी खाता
काठमाडौँ, ५ फागुन – निर्वाचन हुन १६ दिन बाँकी रहँदा उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोल्ने क्रम तीव्र बनाएका छन्। निर्वाचन आयोगले निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि उम्मेदवार धमाधम खाता खोल्न लागेका हुन्।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फका तीन हजार ४०६ उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेको सूचना आयोगको प्रणालीमा प्राप्त भएको छ। यसअघि निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन।
यस वर्षदेखि भने राजनीतिक दल र उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको आयोगले जनाएको छ। आयोगले यस व्यवस्थाबाट निर्वाचन खर्च पारदर्शी हुने विश्वास लिएको छ।आयोगले भौगोलिक अवस्थाअनुसार उम्मेदवारलाई रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आर्थिक अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दुर्गम जिल्ला कालीकोटका सबै उम्मेदवारले बैंक खाता खोलिसकेका छन् भने सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको जानकारी प्राप्त भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भइसकेका छन्। आयोगले रु २५ हजारभन्दा बढी रकम बैंक खातामार्फत मात्र लिने–खर्च गर्ने व्यवस्था गरेको छ।
यसैबीच आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेको थियो। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन खर्चलाई पारदर्शी बनाउन बैंकिङ प्रणाली प्रभावकारी हुने बताउनुभएको थियो। हातहातमा नगद लिएर चुनावी खर्च गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको र त्यसका लागि छुट्टै निर्देशिका जारी गरिएको आयोगले जनाएको छ।

