धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो
काठमाडौँ, ५ फागुन – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फर्किएको छ। धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास असफल भएपछि जहाज राति १२ बजे काठमाडौँ फिर्ता भएको हो। उक्त उडान काठमाडौँबाट राति ९ः४५ बजे प्रस्थान गरेको थियो।
जहाज फर्किएपछि केही समय यात्रु अलपत्र परेका थिए। सो उडानमा यात्रा गरिरहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार जहाज अवतरण हुन नसकी फर्किएपछि विमानस्थलमा यात्रुले केहीबेर असन्तुष्टि जनाएका थिए। एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता लिन चाहने यात्रुलाई रकम फिर्ता गरिने र धनगढी जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमार्फत पठाइने जानकारी दिएका छन्। उक्त उडानमा चालक दलका सदस्यसहित ८० यात्रु सवार थिए।
Facebook Comments Box

