आईसीसी टी–२० विश्वकप २०२६मा पाकिस्तानलाई हराउँदै भारत सुपर ८ मा
काठमाडौँ, ४ फागुन – चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ६१ रनले पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ। आइतबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा जित निकाल्दै भारत एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो।जारी प्रतियोगितामा सुपर ८ मा स्थान सुरक्षित गर्ने भारत दोस्रो टोली बनेको छ। यसअघि वेस्ट इन्डिज क्रिकेट टोलीले पनि नेपाललाई ९ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान बनाएको थियो।
लगातार तेस्रो जितसँगै भारत ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ। समान तीन खेलबाट दुई जित र एक हार बेहोरेको पाकिस्तान ४ अंकसहित तेस्रो स्थानमा झरेको छ। चार खेल खेलिसकेको अमेरिका राष्ट्रिय क्रिकेट टोली दुई जित र दुई हारसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ। पाकिस्तान र अमेरिकाको समान अंक भए पनि नेट रनरेटमा अमेरिका अघि रहेको छ।
तीन खेलबाट एक जित निकालेको नेदरल्यान्ड्स २ अंकसहित चौथो स्थानमा छ भने सबै खेलमा पराजित भएको नामिबिया अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ। आइतबारै नामिबिया अमेरिकासँग ३१ रनले पराजित भएको थियो।भारत राष्ट्रिय क्रिकेट टोलीले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान राष्ट्रिय क्रिकेट टोली १८ ओभरमै ११४ रनमा अलआउट भयो।
पाकिस्तानका लागि उस्मान खानले ४४ रन बनाए। उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सहिन शाह अफ्रिदी २३ रनमा अविजित रहे भने सदाव खानले १४ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।
भारतका लागि हार्दिक पाण्ड्या, जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए। कुलदीप यादव र तिलक बर्माले एक–एक विकेट हात पारे। यसअघि कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको पाकिस्तानविरुद्ध भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।
भारतका लागि इसान किशनले सर्वाधिक ७७ रनको योगदान दिए। उनले ४० बलमा १० चौका र ३ छक्का प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३२ रन बनाउँदा शिवम दुबेले २७ तथा तिलक बर्माले २५ रन जोडे। रिंकु सिंह ११ रनमा अविजित रहे। पाकिस्तानका लागि सैम अयुबले ३ विकेट लिए भने सलमान आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले समान एक–एक विकेट हात पारे।

