गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
बाँके, २ फागुन – थोरै लगानी, स्थानीय स्रोत–साधनको उपयोग र निरन्तर मेहनतबाट उल्लेखनीय आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल देखिनुभएको छ। विगत १२ वर्षदेखि उहाँले ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल (भर्मिक कम्पोष्ट) उत्पादन गरिरहनुभएको छ।
हमालका अनुसार गँड्यौला मल उत्पादनमा थोरै लगानीमै राम्रो मुनाफा सम्भव छ। माटोको उर्वराशक्ति वृद्धि, बालीको सन्तुलित वृद्धि र वातावरण संरक्षणमा यसले प्रभावकारी योगदान पु¥याउने उहाँ बताउनुहुन्छ। रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै जाँदा यसको मागसमेत विस्तार भइरहेको उहाँको भनाइ छ।
वैदेशिक रोजगारीतर्फ आकर्षित युवालाई स्वदेशमै कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको उहाँको धारणा छ। स्थानीय स्रोत–साधनको प्रयोग गरी अर्गानिक मल उत्पादनमा जोड दिए कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो।
गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपातलगायत जैविक पदार्थ प्रयोग गरिन्छ। विशेष प्रजातिको गँड्यौला ‘आइनिया फेटेटरी’ प्रयोग गरी मल तयार पारिँदै आएको हमालले जानकारी दिनुभयो। एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन भन्ने उहाँको अनुभव छ।
उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो। बजार अभाव, आर्थिक कठिनाइ र प्राविधिक ज्ञानको कमीबीच सुरुवात गरिएको यो व्यवसायमा निरन्तर प्रयासपछि अहिले स्थायित्व आएको उहाँ बताउनुहुन्छ। सुरुका दिनमा उत्पादित मल बिक्री गर्न कठिन भए पनि अहिले विभिन्न स्थानीय तह तथा युवामाझ यसको चासो बढेको छ।
हाल हमालले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत उत्पादन गरिरहनुभएको छ। एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर खरिद गरी प्रति ट्राली करिब १२ क्विन्टलसम्म मल उत्पादन हुने उहाँले जानकारी दिनुभयो। एक पटक खरिद गरिएको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिने भएकाले लागत घट्ने र आम्दानी बढ्ने उहाँको भनाइ छ।
उत्पादित मल विशेषगरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ। स्याउ तथा तरकारी खेतीमा यसको प्रयोग बढ्दो क्रममा रहेको हमाल बताउनुहुन्छ। उहाँका अनुसार तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुन्छ भने चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव छ। हाल बजार मूल्य प्रतिक्विन्टल करिब रु दुई हजार पाँच सय रहेको छ।
वार्षिक रूपमा रु १५ देखि १६ लाख बराबरको मल बिक्री हुने र समग्र कारोबार रु २० देखि २५ लाखसम्म पुग्ने उहाँको दाबी छ। विसं २०७१ मा एक किलो गँड्यौला खरिद गरेर सुरु गरिएको व्यवसायबाट हालसम्म झन्डै ५० क्विन्टल गँड्यौला मल बिक्री भइसकेको उहाँले बताउनुभयो।
गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै अघि बढे सफलता हासिल गर्न सकिने उहाँको अनुभव छ। हमालको सफलताले कृषिलाई व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्न सकिने सम्भावना उजागर गरेको छ। उहाँले युवालाई विदेशिनुभन्दा स्वदेशमै अवसर खोज्न आग्रह गर्नुभएको छ।

