रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि वृद्धि
भोजपुर, २ फागुन – आधुनिक रङ्गशाला निर्माण सम्पन्न भएसँगै भोजपुरमा खेल गतिविधि बढ्न थालेका छन्। भोजपुर नगरपालिका–७ कोदारमा निर्माण गरिएको पाँच हजार दर्शक क्षमताको रङ्गशाला सञ्चालनमा आएपछि जिल्लामा राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको हो।
कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण गरिएको रङ्गशाला करिब सात हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। कुल २५ रोपनी जग्गामा सातवटा प्यारापिटसहित संरचना तयार गरिएको छ। विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले रु ५५ लाखमा जग्गा खरिद गरेपछि रङ्गशाला निर्माणको प्रक्रिया सुरु भएको थियो।
प्रारम्भिक चरणमा केही स्तरोन्नतिको काम भए पनि स्रोत अभावका कारण योजना लामो समयसम्म अधुरो रहेको थियो। संघीय शासन प्रणाली लागू भएपछि आवश्यक बजेट व्यवस्थापन भई निर्माण कार्यले पूर्णता पाएको हो। रङ्गशाला सञ्चालनमा आएसँगै खेल पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नयाँ प्रतिभा पहिचान र उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय खेलप्रेमीका अनुसार आधुनिक पूर्वाधार निर्माणपछि युवामा खेलप्रति आकर्षण बढेको छ। भोजपुर खेल प्रतिभाका लागि परिचित जिल्ला हो। यही जिल्लामा जन्मिएकी अल्ट्रा धाविका मिरा राई ले अन्तरराष्ट्रियस्तरमा नेपाललाई चिनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। साथै ब्याडमिन्टन र भलिबललगायत विभिन्न विधामा जिल्लाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका छन्।
विगतमा पर्याप्त खेल पूर्वाधारको अभावका कारण खेलाडीले नियमित प्रशिक्षण र स्तरीय प्रतियोगिताको अवसर सीमित रूपमा पाउँदै आएका थिए। रङ्गशाला निर्माणसँगै अब जिल्लामा खेल गतिविधि थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।

