हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, २९ माघ  – आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदै छ। हिंसात्मक उग्रवादविरुद्ध चेतना विस्तार गर्ने तथा अन्तरराष्ट्रिय सहकार्य सुदृढ बनाउने उद्देश्यका साथ यो दिवस विभिन्न मुलुकमा मनाउने गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु भएको आज चौथो वर्ष हो। राष्ट्रसङ्घको प्रधान कार्यालयसहित विश्वका विभिन्न देशस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले हिंसात्मक उग्रवादको रोकथामका लागि ऐक्यबद्धता जनाउने कार्यक्रम आयोजना गर्दै आएका छन्।

राष्ट्रसङ्घले आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिएको छ। साथै, हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत रोकथामका प्रयास अघि बढाउन विश्व समुदायलाई आग्रह गरेको छ।

दीर्घकालीन शान्ति र स्थायित्वका लागि सुरक्षात्मक उपाय मात्र पर्याप्त नहुने उल्लेख गर्दै सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि समान रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। यस अवसरमा राष्ट्रसङ्घले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान गरेको छ।

Facebook Comments Box