रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक रूपमा अवरुद्ध

गुल्मी, २६ माघ – गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि केही समयका लागि आंशिक रूपमा अवरुद्ध हुने भएको छ। सत्यवती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु हुन लागेकाले सवारी आवागमन प्रभावित हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

राष्ट्रिय राजमार्ग अन्तर्गतको अति संवेदनशील तथा साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्न कटिङ्ग कार्य गर्नुपर्ने भएकाले माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सडक आंशिक रूपमा अवरुद्ध हुने छ। सडक डिभिजन कार्यालयले उक्त कार्यमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीसँग समन्वयका लागि पत्राचारसमेत गरेको छ।

यस अवधिमा दैनिक बिहान ६ देखि ९ बजेसम्म, बिहान १० देखि दिउँसो २ बजेसम्म र दिउँसो ३ देखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ। त्यसैगरी, बिहान ९ देखि १० बजेसम्म, दिउँसो २ देखि ३ बजेसम्म तथा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे सडक प्रयोग गर्न सकिने छ भने साँझदेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ।

यस कार्यका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको छ। प्रशासनले सडक स्तरोन्नति कार्य सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ।

Facebook Comments Box