निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौँ, २२ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो। छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ सकिएको छ। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ। समानुपातिकतर्फका दुई करोड चार लाख मतपत्र छपाइ सकिएपछि माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको थियो।

उच्च हिमाली र दुर्गम जिल्लालाई उच्च प्राथमिकता दिँदै आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ। माघ २५ गतेदेखि फागुन ३ गतेसम्म मतपत्र जिल्ला–जिल्लामा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको छ भने विभिन्न किसिमका अन्य निर्वाचन सामग्री आयोगले नै खरिद गरी जिल्ला–जिल्लामा पठाउने तयारी गरेको छ।

सडक पुगेका उच्च पहाडी तथा हिमाली जिल्लामा ट्रकमार्फत र अत्यन्त उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने सहायक प्रवक्ता जिसीले बताउनुभयो।

विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने काठमाडौँ आसपास तथा नजिकका जिल्लामा पठाइएको आयोगले जनाएको छ। सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेका थिए।

Facebook Comments Box