भ्रामक विज्ञापन प्रकाशन–प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
काठमाडौँ, २२ माघ – आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न र नगराउन विज्ञापन बोर्डले उम्मेदवारहरूलाई आग्रह गरेको छ।
बोर्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सञ्जाललगायत माध्यममार्फत कुनै दल, दलका उम्मेदवार, नेता वा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सिर्जना गर्ने कार्य भइरहेको गुनासो बोर्डमा प्राप्त भइरहेको जनाएको छ।
निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचनका समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भएकाले बोर्डले विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको जानकारी पनि दिएको छ।
“विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम सिर्जना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य वा श्रव्यदृश्य सामग्री प्रयोग गरी मतदातालाई झुक्याउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनै गतिविधि भए वा गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने व्यहोरा पनि बोर्डले जनाएको छ।

