क्यान्सरबाट हरेक वर्ष करिब १० लाखको मृत्यु
काठमाडौँ, २१ माघ – आज विश्व क्यान्सर दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। क्यान्सरप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा उपचारमा जोड दिने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाइने गरिएको हो।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि विश्व क्यान्सर दिवस औपचारिक रूपमा मनाउन थालिएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष विश्वभर करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ।
धूमपान तथा तमाखुजन्य पदार्थको सेवन, अस्वस्थ जीवनशैली र खानपान क्यान्सरका प्रमुख कारण मानिन्छन्। स्वास्थ्य विज्ञहरूले क्यान्सरबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन, नियमित स्वास्थ्य परीक्षण गर्न तथा लक्षण देखिनासाथ चिकित्सकको परामर्श लिन आग्रह गरेका छन्।

