जङ्गलमा लुकाइएका दुई थान भरुवा बन्दुक बरामद
म्याग्दी, २० माघ – म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ अन्तर्गत झीँ गाउँको जङ्गलमा लुकाइराखिएका दुई थान भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानी क्षेत्रको जङ्गलबाट बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको हो। जङ्गलमा लुकाइराखी रातको समयमा चोरीसिकारीमा प्रयोग हुँदै आएको हुनसक्ने प्रहरीको अनुमान छ।
बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा वन्यजन्तुको अवैध सिकारमा प्रयोग हुँदै आएका हतियारले आसन्न प्रतिनिधिसभा निर्वाचन प्रभावित हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयले अवैध भरुवा बन्दुक खोज तथा बरामद अभियान सञ्चालन गर्दै आएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार ‘ब्राभो शेरा’ नाम दिइएको उक्त अभियान मङ्सिर १५ गतेदेखि जिल्लाभर सञ्चालन गरिएको हो। सो अभियानअन्तर्गत यसअघि ११५ थान अवैध भरुवा बन्दुक बरामद भइसकेका छन्। एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २० र धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध भरुवा बन्दुक भए प्रहरीलाई बुझाउन वा जानकारी गराउन अनुरोध गर्दै नायब उपरीक्षक थापाले अवैध हतियारसहित फेला परेमा पाँच वर्ष कैद र रु ५० हजार जरिवानाको कानुनी व्यवस्था रहेको स्मरण गराउनुभयो।

