अनुगमनमा कैफियत भेटिएपछि विभागद्वारा जरिवाना

काठमाडौँ, २० माघ – बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा रहेको एक स्टोरलाई जरिवाना गरेको छ। विभागले थिमिस्थित रमेश थापा स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रु १० हजार जरिवाना गरेको हो।

विभागले गरेको अनुगमनका क्रममा व्यवसाय सञ्चालनमा आवश्यक मापदण्ड पालना नगरेको पाइएपछि उक्त कारबाही गरिएको जनाइएको छ। यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजातसहित एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा थप १४ वटा फर्मलाई सुधारात्मक निर्देशनसमेत दिइएको विभागले जनाएको छ। उपभोक्ता अधिकार संरक्षणका लागि विभागले उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।

Facebook Comments Box