प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले २९ जनासँग स्पष्टीकरण माग्यो

काठमाडौँ, १९ माघ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण माग गरेको छ । शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिसकेको आयोगले आइतबार र सोमबार गरी थप नौ जनालाई स्पष्टीकरण सोधेको हो । यससँगै हालसम्म स्पष्टीकरण सोधिएका व्यक्तिको सङ्ख्या २९ पुगेको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापासँग आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा स्पष्टीकरण माग गरिएको हो ।

थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनासँग जोडेर बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको तथा सामाजिक सञ्जालमा त्यस्ता अभिव्यक्ति पोष्ट गरेको उजुरी आयोगमा परेको छ ।

उक्त उजुरीका आधारमा थापाले मुख्यमन्त्री बानियाँविरुद्ध अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिएको हो वा होइन तथा आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ को पालना गरेको हो वा होइन भन्ने विषयमा आयोगले स्पष्टीकरण सोधेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च) र दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम थापालाई तीन दिनभित्र जवाफ दिन भनिएको छ ।

आयोगले निर्वाचन उम्मेदवार लक्षित भ्रामक तथा अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गरेको आरोपमा विभिन्न व्यक्ति र सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पत्राचारसमेत गरेको जनाएको छ ।

यसैगरी रास्वपाका झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाहसँग आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण माग गरेको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा पोसाकका प्रहरी भोट माग्दै गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

साथै प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्नेबारे तीन दिनभित्र स्पष्ट जवाफ दिन आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ ।

सो कार्य आचारसंहिताविपरीत प्रमाणित भएमा सम्बन्धित जिल्ला कार्य समितिलाई किन कारबाही नगर्ने भन्ने विषयमा आयोगले जवाफ माग गरेको हो । यही विषयमा सोही क्षेत्रका उम्मेदवार माधव सापकोटासँग पनि स्पष्टीकरण सोधिएको छ ।

आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीसँग पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी विषयमा स्पष्टीकरण माग गरेको जनाएको छ । हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

Facebook Comments Box