नारायणी नदीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालन

नवलपरासी, १९ माघ – नारायणी नदीमा जल पर्यटन प्रवद्र्धन र धार्मिक–पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपुरको गैँडाकोटबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ विधिवत् उद्घाटनसँगै क्रुजले नियमित सेवा सुरु गरेको हो। गैँडाकोट र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित क्रुज सञ्चालनमा ल्याइएको बताइएको छ।

उद्घाटन समारोहमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुजलाई नगरको “नमूना गहना” को संज्ञा दिँदै आवश्यक सहयोग पालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्रुजलाई देवघाटधाम हुँदै त्रिवेणीधामसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नदीका अवरोध हटाई गहिराइ बढाउन सहयोग गरिने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा होटल रिभर क्राउनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जल क्रियाकलाप र होटल सञ्जाललाई जोड्दै सहकार्य गरिएको जानकारी दिनुभयो। क्रुज सञ्चालनले गैँडाकोट, नवलपुरसहित समग्र क्षेत्रको आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ।

होटल व्यवसायी प्रभाकर पण्डितले नारायणीमा क्रुज सञ्चालनले देशकै पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको बताउँदै आन्तरिक पर्यटन र स्थानीय आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालि तथा होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको छ। साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको छ। दुई सय जनाको क्षमता भए पनि हाल १५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको उहाँले बताउनुभयो।

क्रुजिङ समय सामान्यतया एक घण्टासम्म रहने र प्याकेजअनुसार फरक–फरक हुने जनाइएको छ। ब्रेकफास्ट, लन्च र डिनर क्रुजिङसहित विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सवजस्ता कार्यक्रमका लागि विशेष बुकिङ उपलब्ध गराइनेछ। साधारण टिकट दर रु ५०० तोकिएको छ भने ब्रेकफास्ट, लन्च र डिनर क्रुजिङका लागि क्रमशः रु १,५००, रु २,००० र रु ३,००० शुल्क निर्धारण गरिएको छ।

क्रुज यात्रुका लागि प्रतियात्रु रु १० लाख बराबरको बिमा गरिएको छ। होटल र क्रुज परियोजनामा करिब रु ५० करोड लगानी भइसकेको र समयअनुसार सेवा विस्तारसँगै लगानी बढाउँदै लैजाने लक्ष्य रहेको सञ्चालक पक्षले जनाएको छ।

वर्षभरि सञ्चालन गर्ने योजनासहित सुरु गरिएको राइनो क्रुजले देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, चितवनको सौराहा र लुम्बिनीलाई एउटै पर्यटकीय करिडोरमा जोड्ने अपेक्षा गरिएको छ। क्रुज सञ्चालनले स्थानीय उत्पादनको खपत बढाउने र प्रत्यक्षरूपमा करिब ५० जनालाई रोजगारी प्रदान गरेको जनाइएको छ।

Facebook Comments Box