मूल्य पाइने आशामा बोटमै जुनार
रामेछाप, १९ माघ – मुलुक चुनावी माहोलले तात्तिँदै जाँदा रामेछापका जुनार किसानलाई भने बोटमै पाकेको जुनारको मूल्यले चिन्तित बनाएको छ। रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू उचित मूल्य पाइने आशामा अझै पनि जुनार र सुन्तला बगैँचामै राखिरहेका छन्।
विगतको तुलनामा यस वर्ष उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पाइने अपेक्षामा किसानले जुनार नटिपेका हुन्। सामान्यतः मङ्सिरदेखि माघको पहिलो हप्तासम्म जुनार टिपिसक्ने समय भए पनि ओख्रेनीका अधिकांश किसानले मूल्य बढ्ने आशामा जुनार बोटमै राखेका छन्।
स्थानीय जुनार कृषक हिमाल तामाङका अनुसार करिब पाँच सय बोटमा फलेको जुनार राम्रो भाउ पाएपछि मात्र बिक्री गर्ने योजना छ। “हामीलाई अहिले चुनावको रौनकभन्दा पनि बोटमै पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ,” उहाँले भन्नुभयो।
यस वर्ष असोज र कात्तिकमा परेको लगातार वर्षाका कारण उत्पादनमा केही गिरावट आएको कृषकहरूको भनाइ छ। गत मङ्सिर–पुसतिर बगैँचाबाट बिक्री गर्दा प्रतिकिलो ५० रुपैयाँ मात्र पाइएको तर अब जुनारको दाना हेरेर ६० देखि ९० रुपैयाँ प्रतिकिलोसम्म मूल्य आउन सक्ने स्थानीय कृषक दिलमाया तामाङले बताउनुभयो। “जति ढिलो बेच्यो त्यति राम्रो मूल्य आउँछ भन्ने आशाले अहिलेसम्म जुनार बोटमै राखेका छौँ,” उहाँको भनाइ छ।
जुनारको बिरुवाले रोपेको दुईदेखि तीन वर्षमै उत्पादन दिन सुरु गर्ने गर्छ। बगैँचामा भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका तरकारी बालीसमेत लगाएर कृषकले दोहोरो आम्दानी लिने गरेका छन्। अर्का कृषक गिरीराज तामाङले पनि सिजन अफमा बिक्री गर्दा राम्रो मूल्य पाइने अपेक्षामा जुनार नबेचेको बताउनुभयो।
जुनारबाट जाम, जुस तथा अन्य पेयपदार्थ उत्पादन गरेर बिक्री गर्ने चलनसमेत बढ्दै गएको छ। जुनारको बजार समस्या खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ। तर जुनार जोन समन्वय समितिका प्राविधिकका अनुसार माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने समय भएकाले धेरै ढिलोसम्म बोटमै राख्नु उपयुक्त हुँदैन।
जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीले समयमै जुनार टिपेर शीत भण्डारमा राखी बेमौसममा बिक्री गर्न सके कृषकलाई बढी फाइदा हुने सुझाव दिनुभयो। फूल फुल्ने समयमा बोटमै जुनार राख्दा अर्को वर्षको उत्पादनमा असर पर्ने उहाँको भनाइ छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आवमा ६८० हेक्टर क्षेत्रफलमा विस्तार भएको नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिनुभयो।
स्थानीय लोकेन्द्र श्रेष्ठका अनुसार जुनार उत्पादन हुने टोल–टोलमा शीत भण्डारको व्यवस्था गर्न सकिए सिजनमा भण्डारण गरी बेमौसममा बिक्री सम्भव हुने र यसले कृषकको आम्दानी बढाउन मद्दत पुग्नेछ।

