उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ, १५ माघ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली छ । बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
ती क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

