कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा, १५ माघ – हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पका रूपमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन निर्माण गरिएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहजता आएको हो ।

हप्तादिन अघिदेखि नै सार्वजनिक सवारीसाधन चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भन्नुभयो, “हाल सबै प्रकारका सवारीसाधनको सहज आवत–जावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा तथा छोटो मार्ग हुँदै मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।”

गत मङ्सिर ५ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो । काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै उहाँले अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको थियो । सोही निर्देशनपछि निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो ।

यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुल प्रयोग गरी शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्न बाध्य थिए ।

चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ तथा मर्मत कार्यमा खटिएका निर्माण कम्पनीले जनाएको छ ।

पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भन्नुभयो, “हामी बाँकी संरचनात्मक कामहरू तीव्र गतिमा गरिरहेका छौँ । असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने लक्ष्य छ ।”

विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो पुल २०७८ साल असारमा आएको बाढीका कारण दुईवटा पिलर भासिँदा चारवटा स्ल्याबमा क्षति पुगेपछि थप जटिल बनेको थियो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य हुँदै आएका छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो ।

उहाँले भन्नुभयो, “लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । तर सरकारको सक्रियतापछि अहिले काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काल राहत दिएको छ, तर तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनु आवश्यक छ ।” हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुने विश्वास गरिएको छ ।

Facebook Comments Box