उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
काठमाडौँ, १४ माघ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बदली रहनेछ भने बाँकी पहाडी तथा तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यस्तै, बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

