झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै

बनियानी, १२ माघ – झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५ जना नयाँ कुष्ठरोगी पहिचान भएको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १५ स्थानीय तहमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिकामा सबैभन्दा बढी १२/१२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

त्यसैगरी मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुई जना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना तथा भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

चालु आर्थिक वर्षमा फेला परेका ५५ जनामध्ये ५३ जनाले उपचारसमेत पाइसकेको फोकल पर्सन दासले बताउनुभयो । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या क्रमशः बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा ९५ जना, २०७८/७९ मा एक सय २१ जना, २०७९/८० मा एक सय ५७ जना, २०८०/८१ मा एक सय २१ जना र २०८१/८२ मा एक सय ४७ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस आधारमा २०७७/७८ मा १.०२ प्रतिशत रहेको सङ्क्रमण दर २०८०/८१ मा बढेर १.४७ प्रतिशत पुगेको देखिन्छ ।

विश्वभर बर्सेनि झण्डै दुई लाख र नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको दासले जानकारी दिनुभयो । चिह्न र लक्षणका आधारमा कुष्ठरोग कम सर्ने र सर्ने गरी दुई प्रकारका हुने उहाँले बताउनुभयो ।

“बहु–औषधि उपचार पद्धतिबाट छदेखि १२ महिनासम्म तीन प्रकारका औषधि सेवन गरे कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ,” उहाँले भन्नुभयो, “समयमै उपचार भए अपाङ्गता पनि हुँदैन ।” तर सामाजिक अवहेलनाको डरका कारण अझै पनि धेरै कुष्ठरोगी गाउँघरमै लुकेर बस्ने गरेको भन्दै उहाँले सूक्ष्म रूपमा खोज तथा पहिचान अभियान आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments Box