एनपीएलमा आजः पहिलो खेल चितवन र कर्णाली दाेस्राे खेल पोखरा र लुम्बिनी बिच हुदै छ ।

काठमाडौँ, २१ मङ्सिर – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) पनि दुई खेल हुँदै छन्। यसअघि लगातार दुई खेलमा हार भोगेका पोखरा एभेन्जर्स र कर्णाली याक्स आज दुई छुट्टाछुट्टै खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा कर्णाली याक्स चितवन राइनोजसँग भिड्दै छ। कर्णाली सोमपाल कामीको कप्तानीमा छ। बलियो मानिएको कर्णालीले मैदानमा भने सोचेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन।

आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ र दोस्रो खेलमा काठमान्डुसँग ३ विकेटले पराजित कर्णाली आज तेस्रो खेलमा चितवनलाई हराउँदै पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ। उता कुशल मल्लको कप्तानीमा रहेको चितवन भने लगातार तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनले हराएको थियो।

दुई खेलबाट ४ अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। दुई खेलमा पराजित कर्णाली भने अंक तालिकाको सातौँ स्थानमा छ। दिउँसो १ बजे सुरु हुने आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन्।पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रनेछ।

लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्नेछन्। लगातार दुई खेलमा हार भोगेको पोखरा पहिलो जित हासिल गर्न चाहन्छ। आफ्नो पहिलो खेलमा पोखरा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हारेको थियो।

लुम्बिनी भने एनपीएलमा आज दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा एनपीएलकै कीर्तिमानी लक्ष्य बनाएर पनि पराजित लुम्बिनी दोस्रो खेलमा पहिलो जितको स्वाद चाख्न चाहन्छ। लुम्बिनीले पहिलो खेलमा विराटनगरलाई १ सय ९२ रनको विशाल लक्ष्य दिए पनि २ विकेटले हारेको थियो।

Facebook Comments Box