उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
काठमाडौँ, १० माघ – निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) तथा अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारका विवरण सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको उहाँले बताउनुभयो।
यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ। उम्मेदवारको वैयक्तिक विवरण आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।

