हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला, १० माघ – हुम्लामा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । गत भदौयता वर्षा नभएको जिल्लामा वर्षासँगै हिमपात हुन थालेको हो । लामो समयसम्म हिउँ नपर्दा चिन्तित बनेका किसान हिमपात सुरु भएपछि भने खुसी भएका छन् । हिउँदे बालीका लागि हिमपात लाभदायक हुने विश्वास गरिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा वर्षा भइरहेको छ भने माथिल्लो हुम्लाका सिमकोट, नाम्खालगायतका क्षेत्रमा हिमपात भइरहेको छ । सामान्यतया तल्लो क्षेत्रमा पर्याप्त वर्षा भएपछि माथिल्लो क्षेत्रमा हिमपात हुने गर्दछ । हिमपातसँगै जनजीवन भने कष्टकर बनेको छ ।
हिमपातका कारण नाम्खा गाउँपालिका र सो गाउँपालिका हुँदै चीन नाकाको हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हिमपात र चिसो बढेसँगै यातायात, दैनिक आवागमन तथा सेवामा समेत प्रभाव परेको स्थानीय प्रशासनले जनाएको छ ।

