माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व देशभर मनाइँदै
काठमाडौँ, ९ माघ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजा–आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने परम्परा रहिआएको छ । आजका दिन लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक धारण गरेकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन् ।
विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने चलन छ । तान्त्रिक परम्परामा भने सरस्वतीलाई तारादेवीका रूपमा आराधना गरी तन्त्रसिद्धि प्राप्त गर्ने विश्वास रहिआएको छ ।
सूर्य उत्तरायण लागी दिन लामो हुन थाल्ने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा–उपासना गरे सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ । गान्धर्व पुराणमा पनि आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख गरिएको छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यद्यपि, यस वर्ष शुक्र अस्त भएकाले यी शुभकार्य नगर्ने निर्णय गरिएको छ । यसै दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने, नाक–कान छेड्ने परम्परा पनि छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा आज बिहानैदेखि भक्तजन—विशेषगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार शुक्रबार बिहान १०ः२७ बजेको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुनेछ ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । कार्यालयका अनुसार वसन्त श्रवणका सबै तयारी पूरा भइसकेका छन् ।

