बाल सुधारगृहमा झडप र आगजनी, सशस्त्र प्रहरी परिचालन

भक्तपुर, ९ माघ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराति दुई समूहबीच झडप र आगजनी भएको छ । झडपका क्रममा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुधारगृहमा राखिएका दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर

झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था झनै तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । आक्रोशित समूहले मध्यरातमा आगजनी गरेपछि भक्तपुर र काठमाडौँबाट दमकल मगाई आगो निभाइएको थियो ।

सुधारगृहमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । हाल स्थिति नियन्त्रणमा आएको भए पनि सुधारगृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सानोठिमीस्थित बाल सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी कुल १६९ जना रहेका छन् ।

Facebook Comments Box