जनभावनालाई प्राथमिकता दिएर काम गर्न कार्यवाहक महानगर प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ, ६ माघ – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकतामा राखेर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेपछि आज पहिलोपटक विभागीय प्रमुखहरूसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा र सफल अभ्यासको निरन्तरताका लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

“यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध सुदृढ बनाउँदै पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भई फराकिलो दृष्टिकोणका साथ काम गर्नुहोला । नागरिकले महसुस गर्ने सेवा, सुविधा र सहजतामा विशेष ध्यान दिनुहोस्,” कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो ।

उहाँले समन्वय, सहकार्य र साझेदारीलाई मजबुत बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षका लागि तय योजनाअनुसार काम सम्पन्न गर्न निरन्तर विभागीय तथा क्षेत्रगत प्रगतिको समीक्षा गर्ने र नतिजामुखी कार्यसूचीमा छलफल गरिने जानकारी पनि उहाँले दिनुभयो ।

आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box