माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा
झापा, ५ माघ – माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे। आज भने यही मूर्तिकला उहाँका लागि पहिचान मात्र नभई अस्तित्व जोगाउने सङ्घर्षको विषय बनेको छ।
भद्रपुर–६ स्थित मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकदेखि माटाका मूर्ति बनाएर जीवन धान्दै आउनुभएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुनुहुन्छ। पिताबाट आर्जेको सीपलाई पेसामा रूपान्तरण गर्दै उहाँले यही मूर्तिकलाबाट परिवार चलाउँदै र दुई सन्तानको शिक्षादिक्षा गर्दै आउनुभएको छ। तर पछिल्लो समय परम्परागत यो पेसा गम्भीर आर्थिक सङ्कटमा पर्दै गएको उहाँ बताउनुहुन्छ।
राजवंशीका अनुसार मेहनत र लगनशीलतामा कुनै कमी छैन, तर बजारमा अवैध रूपमा भित्रिने सस्ता भारतीय मूर्तिका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको छ। ‘अभिषेक मूर्ति उद्योग’ नाममा कानुनी रूपमा सञ्चालन हुँदै आएको उहाँको व्यवसायमा भारतीय बजारबाट हुने अतिक्रमणले गम्भीर असर पारेको छ।
“अवैध रूपमा भारतबाट आउने मूर्ति नरोकिने हो भने हामीजस्ता माटोमा पसिना बगाएर खाने कलाकारको भविष्य अन्धकारमय हुन्छ,” उहाँ पीडा पोख्नुहुन्छ। कुनै समय देशभर परिचित रहेको उद्योग आज ग्राहक अभावका कारण सङ्कटमा परेको उहाँको भनाइ छ।
दसैँ, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवी पूजालगायत हिन्दू पर्वका लागि आवश्यक मूर्ति निर्माणमा सक्रिय रहँदै आउनुभएका राजवंशी आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिलाई झल्काउने विभिन्न प्रकारका मूर्तिहरू पनि निर्माण गर्नुहुन्छ। भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवतीलगायतका मूर्ति माटो र सिमेन्ट दुवै माध्यमबाट बनाउन सक्ने सीप उहाँसँग छ।
भारतीय मूर्ति सस्तो हुने हल्लाका कारण ग्राहक सीमापारि जाने वा भारतीय व्यापारी गाउँगाउँमै पुगेर मूर्ति बेच्न थालेपछि समस्या थपिएको उहाँ बताउनुहुन्छ। आफ्ना मूर्ति गुणस्तरमा राम्रो र कतिपय अवस्थामा सस्ता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले ग्राहकले जानकारी नपाउने अवस्था बनेको छ।
मूर्तिकलाबाटै परिवार चलाउँदै आउनुभएका राजवंशी सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ। उहाँ स्वदेशी श्रम र सीपको सम्मान गर्ने सामाजिक अगुवाका रूपमा परिचित हुनुहुन्छ। भ्रष्टाचार समाज विचलनको मुख्य कारण भएको ठहर गर्दै उहाँले भद्रपुर नगरलाई ‘भ्रष्टाचार शून्य नगर’ बनाउने अभियानसमेत सञ्चालन गर्दै आउनुभएको छ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत भइरहेका सडक विस्तार र स्तरीकरणका काम गुणस्तरहीन भएको भन्दै उहाँ निरन्तर आवाज उठाउँदै आउनुभएको छ। युवापुस्ताले स्वदेशमै श्रम र सीपको महत्व बुझ्नुपर्नेमा उहाँको जोड छ। लोकतन्त्रमा इमानदार र सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै पैसा र पहुँचकै आधारमा राज्य सञ्चालन भइरहेसम्म गणतन्त्र सर्वहारा वर्गसम्म नपुग्ने उहाँको धारणा छ।
चार जनाको परिवार पाल्दै समाजमा केही देन दिन सफल भएको अनुभव सुनाउने राजवंशी आफ्ना सीप अरूलाई सिकाउन तयार भए पनि मूर्तिकला सिक्न कोही नआएकोमा चिन्तित देखिनुहुन्छ। पछिल्लो समय ग्राहक अभावका कारण पेसा नै सङ्कटमा परेको उहाँको गुनासो छ।
आज पनि भद्रपुरको आदिवासी क्षेत्र महेशपुरमा माटोसँग रमाइरहनुभएका विष्णु राजवंशी राज्यको उपेक्षा, अवैध आयात र संरक्षणको अभावले आफ्नो कला मात्र नभई पुस्तौँदेखि चलेको परम्परा नै हराउने खतरा बढ्दै गएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यदि स्वदेशी कला र श्रमको संरक्षण भएन भने माटोसँग जोडिएको हाम्रो पहिचान इतिहासमै सीमित हुनेछ।”

