सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा, २ माघ – चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको गोसाइ डाँडा ताल आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रमा सामुदायिक वनको पहलमा निर्माण गरिएको यस तालले पर्यापर्यटन, जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकसाथ जोडेको छ ।

तालमा डुङ्गा चढेर रमाइरहेका पर्यटक, चारैतिर फैलिएको हरियाली वन र शान्त प्राकृतिक वातावरणले झवाई खोल्सी क्षेत्रलाई जीवन्त बनाएको छ । पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको गोसाइ डाँडा ताल अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा ताल क्षेत्रमा पर्यटकको उल्लेख्य चहलपहल देखिन थालेको छ । “यस क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ,” अध्यक्ष चौधरीले भन्नुभयो, “थप सौन्दर्यीकरण, डुङ्गाको सङ्ख्या वृद्धि, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पर्यटक विश्रामस्थल तथा आवश्यक संरचनाको निर्माण गर्न सके झवाई खोल्सीलाई निकट भविष्यमै मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।”

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो ताल झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरि रहेका साना–ठूला पोखरीले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अझ बढाएको छ । चुरे क्षेत्रको सिमसार संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो ।

चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा गोसाइ डाँडा तालले ‘वाटर रिचार्ज’मार्फत महत्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष तेजुलाल चौधरीले बताउनुभयो । “यस प्रकारका ताल र पोखरीले चुरे क्षेत्रको जलाधार संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउँछन्,” उहाँले भन्नुभयो ।

तालको सिमसार क्षेत्रको पानी सङ्कलन गरी आवश्यकता भन्दा बढी पानी सिँचाइमा प्रयोग गर्ने सम्भावनाको अध्ययनपछि भूसंरक्षण तथा सिँचाइ कार्यालयले लगानी गरेको छ । झवाई खोल्सीको पानी प्रयोग गरी बानोगाउँका किसानले तरकारी, गहुँ र धान खेती गर्न थालेपछि थारू र मुसहर समुदायको जीवनस्तरमा सुधार आएको स्थानीय बताउँछन् ।

स्थानीय थारू र मुसहर समुदायको सक्रिय सहभागिता यस क्षेत्रको मुख्य विशेषता बनेको छ । सामुदायिक वनको संरक्षण, तालको व्यवस्थापन र सौन्दर्यीकरणमा स्थानीयको अग्रसरताले झवाई खोल्सी उदाहरणीय बन्दै गएको छ । झवाई खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीका अनुसार माछापालनबाट वार्षिक करिब दुई लाख र वनको डालापात तथा दाउरा बिक्रीबाट करिब पाँच लाख रुपैयाँ आम्दानी हुँदै आएको छ ।

ताल क्षेत्रमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय र वनभोजस्थल निर्माण भइसकेका छन् । सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार महादेव र हनुमान मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ भने भविष्यमा भ्यूटावर निर्माण गर्ने योजना पनि रहेको छ ।

तालको बीचमा देखिने जमिनले यसलाई अझ आकर्षक बनाएको स्थानीयको भनाइ छ । “यो दृश्यले पोखराको फेवातालको झल्को दिन्छ,” स्थानीय बासिन्दा अशोक चौधरीले भन्नुभयो, “यही कारण धेरै पर्यटक यहाँ आकर्षित भएका छन् ।”लहान नगरपालिकाले झवाई खोल्सी क्षेत्रमा शिव मन्दिर निर्माण, गाउँसम्म पुग्ने सडक ढलान तथा थारू परिकारमार्फत पर्यटक आकर्षित गर्न थारू संस्कृति होमस्टे व्यवस्थापनसमेत सुरु गरिसकेको छ ।

यस क्षेत्रको विकासमा बाधक बन्दै आएको बानो खोलामा पुल निर्माणको काम पनि सुरु भइसकेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ३५ लाख बजेटमा निर्माणाधीन पुल आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

झवाई खोल्सी क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रयासमा नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको भूमिका स्मरणीय रहेको सामुदायिक वनका अध्यक्ष चौधरीले बताउनुभयो । पर्याप्त प्रचारप्रसार र निरन्तर लगानी भए गोसाइ डाँडा ताल आगामी केही वर्षमै मधेस प्रदेशकै नमूना पर्यापर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box