सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा करिब नौ हजार लाइसेन्स छपाइ
काभ्रेपलाञ्चोक, २५ पुस – पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पछिल्ला दुई महिनामा क्यूआर कोडसहितका करिब नौ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिएका छन् । गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएयता आठ हजार ९८३ थान लाइसेन्स छपाइ भएको यातायात व्यवस्था विभागले जनाएको छ । जेनजी आन्दोलनका क्रममा ‘मास प्रिन्टर’मा तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गर्नुभएको थियो । लाइसेन्स छपाइका लागि विभाग र केन्द्रबीच कात्तिक १२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार दुई महिनाको अवधिमा आठ हजार ९८३ थान लाइसेन्स छापिएका छन् । “अत्यावश्यक लाइसेन्समात्र छपाइ गरिएको हो,” उहाँले भन्नुभयो, “छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेका छन् ।” हाल नयाँ ट्रायल पास गरेका तथा नवीकरणका लागि आवेदन दिएका गरी करिब ३० लाख लाइसेन्स छपाइ हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
विभागले अब साधारण लाइसेन्स छपाइका लागि तयारी गरिरहेको छ । एकैपटक एक लाख ‘डाटा’ केन्द्रमा पठाउने तयारी भइरहेको खतिवडाले बताउनुभयो । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ ।
हालसम्म कामको गति सुस्त देखिए पनि माघ महिनादेखि तीव्र बनाइने सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो । “सुरुआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भएको हो,” उहाँले भन्नुभयो, “अब नयाँ जनशक्तिसहित एक हप्ताभित्रै कामको गति बढाइनेछ ।” उहाँका अनुसार माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ ।
सुरुआती दुई हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । नेपालमै गरिएको ल्याब परीक्षण सफल भएपछि लाइसेन्स विभागलाई बुझाइएको ढुङ्गानाले जानकारी दिनुभयो । सम्झौताअनुसार पहिलो तीन महिनामा प्रतिमहिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छपाइ गरिनेछ ।
केन्द्रबाट छापिने नयाँ कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार कार्डमा छ तहसम्मका सुरक्षा प्रविधि प्रयोग गरिनेछ । लाइसेन्स कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमध्ये केही दृश्य र केही अदृश्य हुने बताइएको छ ।
सुरक्षण मुद्रण केन्द्रले भविष्यमा लाइसेन्सका अतिरिक्त हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा तथा भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रमा जडित दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिने क्षमता रहेको छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणका नाममा वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।
सरकारले विसं २०८० मा सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्ने कार्यमूलक तथा नतिजामूलक गुरुयोजना तयार पारेको थियो । पहिलो चरणमा पाँच वर्षभित्र आत्मनिर्भर बन्ने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सार्क तथा दक्षिणपूर्वी एसियाली राष्ट्रलाई सेवा विस्तार गर्ने र तेस्रो चरणमा १५ वर्षभित्र तेस्रो मुलुकसम्म सुरक्षण मुद्रणसम्बन्धी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यसअघि सूचना–प्रविधि पार्कका लागि निर्माण गरिएका भौतिक संरचना प्रयोगविहीन भएपछि पाँच वर्षअघि सोही क्षेत्रलाई सुरक्षण मुद्रण केन्द्रमा रूपान्तरण गरिएको हो । २५७ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रभित्र दुई ठूला प्रशासनिक तथा व्यापारिक भवन, चार आवासीय भवन र गोदामघरसमेत रहेका छन् ।

