थारु बस्तीमा माघीको उमङ्ग
सिरहा, १ माघ – माघको कठ्याङ्ग्रिँदो चिसोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीहरूमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण गाउँगाउँमा उत्सवमय वातावरण बनेको छ ।
माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी तथा माछाका विविध परिकार तयार गर्न व्यस्त छन् । पर्वलाई सामूहिक रूपमा मनाउने चलनअनुसार गाउँका अगुवाको घरमा भेला भई आगामी वर्षका योजना बनाउने परम्परा पनि जीवित छ ।
थारु समुदायको बाक्लो बसोबास रहेको सिरहाको लहान र धनगढीमाई नगर क्षेत्रका गाउँहरूमा माघीको तयारी एक हप्ताअघिदेखि नै सुरु भएको थियो । लहानका वानोगाउँ, गोठटोल, पडरिया र बर्छवालगायतका स्थानमा माघी मेलाले विशेष रौनक थपेको छ ।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार माघी केवल खानपिनको पर्व मात्र होइन । उहाँले भन्नुभयो, “थारु समुदायका मौलिक परिकारको स्वाद लिनु, परम्परागत भेषभूषामा सजिनु र थारु भाषाका गीतमा झुम्नु नै माघीको वास्तविक सुन्दरता हो । यसले हाम्रो भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।”
यस्तै, धनगढीमाई नगरपालिकामा ‘तेस्रो जिल्लास्तरीय तिला सङ्क्रान्ति उत्सव–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ । नगर संयोजक शम्भू चौधरीका अनुसार उत्सवमार्फत थारु समुदायको कला, संस्कृति र पहिचान प्रदर्शन गरिनेछ ।
माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै भाले बासेसँगै पवित्र नदी वा खोलामा स्नान गर्ने परम्परा रहेको छ । स्नानपछि घर फर्केर मान्यजनको आशिर्वाद लिने र ‘खिचडी’ दान गर्ने चलन पनि छ ।
स्थानीय जानकार अनिल चौधरीका अनुसार माघी पर्वले सामाजिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउँछ । उहाँ भन्नुहुन्छ, “माघीमा नुहाएर आएपछि ठूलाबडाको आशिर्वाद लिने र तिल, चामलजस्ता सामग्री दान गर्ने परम्परा पुर्खादेखि चल्दै आएको पवित्र संस्कार हो ।”
वेशभूषा, नाचगान र परम्परागत खानपिनको सङ्गम बनेको माघी पर्वले यतिबेला सिरहाका थारु बस्तीहरूलाई पूर्ण रूपमा उत्सवमय बनाएको छ ।

