बजेट अर्धवार्षिक समीक्षा : आम्दानी ३८ प्रतिशत, खर्च ३५ प्रतिशतमा सीमित
काठमाडौँ, १ माघ – चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै सन्तोषजनक देखिएका छैनन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म केन्द्र सरकारको आम्दानी वार्षिक लक्ष्यको ३८ प्रतिशत र खर्च ३५ प्रतिशतमा सीमित रहेको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख खर्च भएको छ, जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत हो ।
चालु शीर्षकतर्फको खर्च भने तुलनात्मक रूपमा बढी देखिएको छ । चालु खर्चतर्फ वार्षिक लक्ष्यको ४१ दशमलव २५ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा रु ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन गरिएकोमा हालसम्म रु चार खर्ब ८७ अर्ब १४ करोड ३१ लाख खर्च भएको छ ।
पुँजीगत शीर्षकतर्फ भने खर्च अत्यन्तै कमजोर देखिएको छ । रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएको पुँजीगत बजेटमध्ये पुस मसान्तसम्म केवल रु ४९ अर्ब ४२ करोड ५४ लाख खर्च भएको छ, जुन वार्षिक लक्ष्यको १२ दशमलव १२ प्रतिशत मात्र हो ।
त्यस्तै, वित्तीय व्यवस्था शीर्षकतर्फ रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बजेट छुट्याइएकोमा पुस मसान्तसम्म रु एक खर्ब ५३ अर्ब ६४ करोड ४९ लाख खर्च भएको छ । यो खर्च वार्षिक विनियोजनको ४० दशमलव ९५ प्रतिशत हो ।
यस वर्ष सरकारले कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म प्राप्त आम्दानी रु पाँच खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रहेको छ, जुन लक्ष्यको ३८ दशमलव ३८ प्रतिशत हो । यस अवधिमा सरकारको कूल आम्दानीभन्दा कूल खर्च रु एक खर्ब एक अर्ब ७० करोड १२ लाखले बढी देखिएको छ ।
राजस्वतर्फ वार्षिक रु १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य रहेकामा हालसम्म ३९ दशमलव ०१ प्रतिशत अर्थात् रु पाँच खर्ब ७७ अर्ब ४० करोड राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्वतर्फ रु पाँच खर्ब १६ अर्ब ११ करोड ५१ लाख (३८ दशमलव ९३ प्रतिशत) र गैरकर राजस्वतर्फ रु ६१ अर्ब २८ करोड ४८ लाख (३९ दशमलव ६९ प्रतिशत) संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
वैदेशिक अनुदानतर्फ यस आवमा रु ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक अवधिसम्म रु सात अर्ब १० करोड ६९ लाख मात्र प्राप्त भएको छ, जुन लक्ष्यको १३ दशमलव तीन प्रतिशत हो ।

