निर्वाचन आउन ४९ दिन बाँकी, निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ, १ माघ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर समापन भएको हो । सङ्घीय सरकारअन्तर्गत गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष हुने यी गोष्ठीहरूमा यस वर्ष आन्तरिक सुरक्षासँगै निर्वाचन सुरक्षामा विशेष ध्यान दिइएको जनाइएको छ ।

जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन चारवटै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा ल्याएको छ । साथै निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि–२०८२ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।

सोही योजनाअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको जनाएको छ । यसपटकको निर्वाचनमा करिब ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी तथा करिब ३४ हजार सशस्त्र प्रहरी परिचालन हुनेछन् ।

नेपाल प्रहरीले दुई हजार ८४५ मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

Facebook Comments Box