उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौँ, १ माघ – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर अथवा माघे सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाट उत्तरायण सुरु हुने भएकाले आजदेखि दिन क्रमशः लामो र रात छोटा हुँदै जान्छन् ।
उत्तरायण प्रारम्भ हुने यस दिन स्नान, जप, तप, ध्यान, दान र व्रतलाई विशेष पुण्यदायी मानिन्छ । यही धार्मिक मान्यताअनुसार आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यी स्थानहरूमा आज विशेष मेलासमेत आयोजना हुन्छ ।
तराई क्षेत्रका बासिन्दाले माघ १ गतेलाई ‘नहान’ अर्थात् स्नान पर्वका रूपमा मनाउँछन् । वर्षभर स्नान गर्न सहज वातावरण नहुने तराईवासीले आज अनिवार्य रूपमा नुहाउनुपर्ने धार्मिक विश्वास राख्छन् ।
धार्मिक विश्वासअनुसार आज बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने जनविश्वास छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते स्नान, ध्यान, दान नगर्ने तथा घ्यू, चाकु, तिल र खिचडी नखाने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ ।
उत्तरायणपछि शुभकर्म गर्न उत्तम मानिने भएकाले आज स्नान, दान, व्रत र ध्यान गर्नेले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ । चिसो मौसममा शरीरलाई न्यानो राख्न यस्ता तातो परिकार खाने परम्परा बस्दै आएको हो । आयुर्वेद चिकित्सकहरूका अनुसार यी परिकारले शरीरका त्रिदोष नाश गर्छन् ।
धेरै ठाउँमा पुसको अन्तिम दिन तरुल पकाएर माघमा खाने चलन छ, जसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानसँग जोडिन्छ । आजका दिन तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायु तथा हड्डी बलियो हुने आयुर्वेदिक मान्यता छ ।
धार्मिक ग्रन्थअनुसार सूर्य उत्तरायणमा हुँदा भएको मृत्युलाई उत्तम मानिन्छ । महाभारतकालीन पात्र भीष्मले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको कथन पाइन्छ । यस अवसरमा भक्तपुरस्थित तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्दछ ।
माघ महिनामा माघमाहात्म्यको विशेष महत्व रहन्छ । स्कन्द पुराणको केदारखण्डअन्तर्गत कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् श्री स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म पाठ गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ । व्रत गर्नेहरूले माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्ने भएकाले यसलाई माघस्नान पनि भनिन्छ ।
माघे सङ्क्रान्तिको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदै आएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई मध्यनजर गर्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

