निर्वाचन आउन ५० दिन बाँकीः बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता
काठमाडौँ, ३० पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरिएको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार एकलसहित १७ वटा चुनाव चिह्न प्रयोग गर्ने राजनीतिक दलका उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन्।
उम्मेदवारले नाम फिर्ता लिन चाहनेका लागि आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकेको थियो। आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको थियो। तोकिएको समयसीमाभित्र १७५ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।
नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० जना उम्मेदवार रहेका छन्। अन्य दलसँग एकता भएकाले लोसपाले यसअघि पेस गरेको सम्पूर्ण बन्दसूची फिर्ता लिएको उहाँले बताउनुभयो। यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार–चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई–दुई जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।
त्यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पनि एक–एक जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची यही पुस १३ र १४ गते राजनीतिक दलहरूले आयोगमा पेस गरेका थिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ। आयोगले पछिल्लो जनगणनाका आधारमा समावेशी र जातीय प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

