देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ, ३० पुस – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्तिका दिन प्रत्येक वर्ष ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष करिब तीन लाख श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ ।

ज्योतिषीय गणनाअनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्त हुने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । मेलाअवधिमा सवारी व्यवस्थापनका लागि विभिन्न मार्ग तोकिएको छ ।

चितवनतर्फबाट आउने सवारीसाधन रामनगर–देवघाट, रामनगर–ठिमुरा–देवघाट तथा दासढुङ्गा हुँदै देवघाट प्रवेश गर्नेछन् भने फर्कदा देवघाट–बागेश्वरी–आँपटारी मार्ग प्रयोग गरिनेछ । नवलपुरतर्फका भक्तजन हर्दीस्थित कालीगण्डकी पुल हुँदै देवघाट आउन सक्नेछन् । मुग्लिनतर्फबाट आउने सवारीसाधन दासढुङ्गाबाट सिधै देवघाट प्रवेश गरी सोही मार्गबाट फर्कने व्यवस्था मिलाइएको छ ।

चितवनतर्फबाट आउने साना सवारीसाधनको पार्किङ सीताराम संस्कृत माध्यमिक विद्यालय परिसरमा र ठूला सवारीसाधनको पार्किङ चन्द्रलोक स्वर्गद्वार नजिकको बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । तनहुँतर्फ पैदलमार्ग प्रयोग गर्ने श्रद्धालुका लागि प्रवेश र निर्गमनका छुट्टाछुट्टै मार्ग तोकिएको छ ।

तीर्थयात्रीको यात्रा सुरक्षित र सहज बनाउन तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले जानकारी दिनुभयो । मेलाका दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

देवघाटधाम क्षेत्रमा धुम्रपान, मांस, मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । तीर्थयात्रीलाई स्नान क्षेत्रभन्दा बाहिर गहिरो पानीमा नजान अनुरोध गरिएको समितिले जनाएको छ । आज बिहान विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधिअनुसार वेणीसङ्गममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिने समितिले जनाएको छ ।

Facebook Comments Box